Saturday, November 16, 2013

भुन्टे ( https://nepaltouch.com/news/1022/07/2020 )

ए भुन्टे, भुन्टे । 
तल आँगनबाट आमाको आबाज उसले सुन्यो । आमाको आवाज सँगै काले कुकुर पनि पर बाटो तिर हेरेर भुक्न थाल्यो ।
माघ महिनाको सुनौलो बिहान ,पर सल्लेरी बनको अग्लो सल्लाको रुखको टुप्पा बाट घाम कलिला किरण गहिरी गाउमा छर्दै थिए । भुन्टे यसो सिरक बाट टाउको बाहिर निकालेर झ्याल बाहिर हेर्दे थियो । सिरक छोडेर उसलाइ बाहिर निस्कन मन थिएन । अल्छी गर्दे फेरी सिरक तानेर गुटुमुटु भएर सुत्यो ।
ए भुन्टे, भुन्टे । हैन घाम कति माथी आइ सके कति सुत्न सकेको । हजुरबाको निरन्तरको खोकाइ अनि तिखो सुर्तिको गन्ध सँगै खरेटो ले आँगन बडारेको आवाज सुनिदै थियो ।
चाँडो उठ त हेर पर बाट को आयो । आमाको आवाज झन चर्को भयो र आवाजमा एक किसिमको उत्साह पनि थियो । ढुँगा ले छापेको आँगनमा कोहि बुट लगाएर हिडेको आवाज आयो टक टक टक ।
भुन्टेका कान ठाडा भए । अल्छी लागेको थियो बाहिर जाडो एक तमासको थियो । पश्चिम तर्फको झ्याल बाट माथि तिनजुरे डाँडामा हिउँ सुनौलो रँग मा चम्कदै थियो ।
अन्तिम पटक आमाको चर्को आबाज आयो ,,भुन्टे चाँडो उठ भन्या हेर को आयो । यहा तल चाँडो आइज ।
भुन्टे ले माथी सिरक भित्र बाट नै करायो । को आयो र उठ्नु कस्तो जाडो छ बाहिर।
हेर तेरा बा आउनु भएको छ । तँ लाइ खै के के ल्याइदिनु भएको रैछ इन्डिया बाट ।
यति सुन्ने बित्तिकै भुन्टेको जाडो हरायो । सिरक लाइ एका तिर पन्छाएर फुत्त ओछ्यान बाट उठ्यो । उसलाइ बा को अनुहार समेत राम्ररी याद छैन । आमाले भनेको सुन्थ्यो हेर बाबु तँ जन्मेको जम्मा छ महिना पछि नै तेरा बा इन्डियामा लाहुरेमा भर्ति भएर गएका छन् । अब त तँ पनि पाँच बर्षको भै सकिस् । एक पटक पनि फर्केर आएका छैनन् । बेला बेलामा चिठ्ठी आउछ खै कुन्नी कहाँ को हिमाल मा हिउँ परेका ठाउमा दुस्मन सँग लडाँइ गर्दैछु भनेर । चिठ्ठी पढेर आमा आँखामा भरी आँशु पारेर छातीमा टाँस्थीन् ।अनि भुन्टे लाइ हेरेर मुसुक्क मुस्काउथिन् ।उसका साथि हरु सबै दशैमा वा ले ल्याइदिएका नयाँ लुगा अनि अनेका थरीका खेलौना लिएर दौडिरहन्थे । भुन्टे पनि साथि हरुलाइ गफ लगाउँथ्यो मेरा बा पनि त लाहुर गएका छन् नी अबको दशैमा घर आउँदैछन् मलाइ पनि के के खेलौना अनि नयाँ लाहुरे ले लगाउने लुगा अनि नयाँ बुट ल्याइ दिन्छन् ।
भुन्टे हुर्रिदै भर्याङ ओर्लियो आफ्ना बालाइ हेर्न । सिकुवा को डिलमा पुगेर टक्क अडियो । आँगनको डिलमा बाँस का खम्बा गाडेर एउटा बस्ने बेन्च बनाइएको थियो । हजुरबा ले खोक्दै कति बर्ष देखि साँध नलगाएको खुर्पा ले ट्वाक्क ट्वाक्क हिर्काएर बनाएको बस्ने ठाउ । हेर्दा पनि ठ्याक्कै हजुरबुबा जस्तै बाङ्गीएको कतै लामो बाँस निस्किएको त कतै छोटो भएको । त्यो अनाकर्षक बस्ने ठाउमा ओछ्याइएको राडी माथि एक जना जुँगा मुठे काले काले हरिया हरिया खालका बुट्टा भएका लुगा अनि काला गोलि गाँठा भन्दा पनि माथि सम्म आइ पुग्ने बुट जुत्ता लगाएको मान्छे बसि रहेको थियो । भुन्टे डराउदै डराउदै पर बाटो तिर हेर्न थाल्यो,आमा हातमा खरेटो बोकेर पालिको अगाडि मुखमा मुस्कान छर्दे उभिएकी थिइन् ,हजुरबा टलक्कै टल्कने ठुलो रेडियो बटार्दै थिए ।
आमा ले हाँस्दै भनिन् भुन्टे कता पर पर हेर्दै छस् उ हेर त तेरा बा । जहिल्यै पनि मलाइ खै बा भनेर पिरोलि रहन्थिस् नि लु हेर आज आइ पुग्नु भएछ ।
बा !
भुन्टे तिनछक्क पर्यो । उसले आफ्ना बा को अनुहार नदेखे पनि मनमनै एक किसिमको चित्र बनाइ सकेको थियो । जब उ कुनै काम राम्ररी मानेर गथ्र्यो या त कुनै काम बिगाथ्र्यो तब उसका हजुरबा अनि आमाबाट आखिर त्यहि बाउको छोरा न हो भन्ने प्रतिक्रया पाउथ्यो तब उ त्यो ब्यक्ति जो उसले कहिल्यै नदेखेको उसको बा हो उसका बारेमा एक प्रकारको प्रतिबिम्ब उसले मनमा नै बनाइ सकेको थियो । तर आज उ एक सिकारु चित्रकार जस्तै भएको थियो जसले गाइको चित्र बनाउदा गोरु बन्न जान्छ । उसले आफ्ना बा लाइ राम्ररी हेर्न थाल्यो । यति लामा बाटिएका जुँगा मोटो काले काले सिधै अनुहारमा हेर्दा उसलाइ डर लाग्न थाल्यो । भुन्टे मनमनै कुरा गर्न थाल्यो थुक्क यस्ता मेरा बा भएका भए त म खोजि नै गर्ने थिइन नि बित्थामा आमा लाइ खै बा खै बा भनेर हैरान परेछु । हेर त्यो संगितेका बा कति राम्रा गोरा चस्मा लगाएका बुट्टे सर्ट पाइन्ट भित्र हालेर पेटि लाएका कति राम्रा,मेरा चाँहि यस्ता रे । अब मेरा बा भनेर तिनिहरुलाइ कसरी भन्ने,चौरी मा खेल्दा मेरा बा यस्ता छन् उस्ता छन् भनेर अनेक गफ लगाएको मा उसलाइ पछुतो लाग्न थाल्यो ।
भुन्टे, यता आइज त छोरा ,हेरा कति ठुलो भै सकेछ अब त बुहारी ल्याउने बेला पनि भएछ ।
अचानक एक भद्दा आवाज सुनेर भुन्टे तर्सियो । लौ मान्छे मात्र यस्तो भनेको त आवाज पनि पो कस्तो रैछ ठ्याक्कै तामाङ माल्दाइको जस्तो डरलाग्दो ।
भुन्टे सिकुवा बाट एक खुट्किला तल आँगनमा ओर्लियो अनि रोकिएर भुँइमा खुट्का औलाले खै के के कोर्न थाल्यो ।
अचानक दुइ ओटा बलिस्ठ हात ले उसलाइ च्याप्प समातेर फुत्त माथी उचाल्यो हावामा । अनि उसले आफ्ना गालामा बा का ति काला जुँगाको घोचाइ महशुश गर्यो,छ्या के गनाएको यस्तो, बा को मुख बाट आएको गन्ध ले उसलाइ झन्डै बान्ता नै भयो । उ सके सम्म ति हात बाट उम्कन चाहन्थ्यो तर उसले जति कोशिश गरे पनि सक्ने कुरै रहेन । उ जबर्रजस्ति बा को जिउमा टाँसि रह्यो ।
पर्तिर बाट हजुरबा च्याठिएर कराए हैन हौ काले तैले यो कस्तो रेडियो ल्याइस , नेपाल नै टिप्दैन त ।
ए बा त्यो सर्ट वेभ मा लागेको होला मिडियम वेभ मा लगाउनु न अनि बज्छ ।
खै भएन । लौ तँ नै बजा । हजुरवा ले रेडियो वा लाइ दिदै भने ।
बल्ल भुन्टे बा को चँगुल बाट फुत्कियो । अनि फुत्त उफ्रेर भित्र भान्सामा गयो र आमा लाइ पिरोल्न थाल्यो । आमा पनि राति पानी परेर भिजेका दाउरा बाल्न जोड जोड ले फुक्दै थिइन् आगो बल्नुको सट्टा चुइचुइ गरेर फिँज निकाल्दै धुवा निस्कदै थियो । आमा ले बाँसको ढुङ्ग्री ले जोड जोड ले आगो फुक्दा तिनका गाला कहिले भुक्क परेर फुल्थे गहुँको रोटी जस्तै अनि सुक्थे । भोक लाग्यो आमा,,भुन्टे कराउदै थियो । आगो नबलेको झोँकमा आमा ले उसलाइ हप्काइन् ,हैन बिहान उठ्न पा को छैन कति भोक लागेको । जा न बाहिर बा सँग गफ गर । तेरा बा कत्रो ठुलो लडाँइ बाट फर्किनु भएको, लडाँइका कथा सुनाउनु भन् ।
लडाँइका कथा सुन्ने बित्तिकै उसलाइ खुसी लाग्यो । गाउमा साथी हरु सँग खेल्दा बन्दुक बोक्ने उ नै हुन्थ्यो । उसको बन्दुक सबै भन्दा ठुलो अनि आकर्षक थियो । सात दिन जति हजुरबा को पछि लागेर उनलाइ नै बनाउन लगाएको ।
हजुरबा लाइ जहिल्यै पनि दुख दिने भुन्टे सात दिन सम्म उनको हरेका जरुरत पुरा गर्न तल्लीन रह्यो । पात्ले कुटुसको पात लाइ सुकाएर त्यसमा खरो सुर्ति बेरेर खान्थे हजुर बा । हातमा जहिल्यै पनि एउटा अगुल्टो हुन्थ्यो सुर्ति निभ्यो कि सल्काइ हाल्थे । कहिले अगुल्टो निभ्थ्यो र भुन्टे लाइ गुहार्थे ए भुन्टे जा जा भित्र बाट एउटा अगुल्टो लिएर आइज । भुन्टे सुनेको नसुनै एका तिर लाग्थ्यो अनि हजुरवा उसलाइ सराप्थे ,,,पख न तँलाइ भेटौ मात्रैन मै जान्याछ यति काम पनि नटेर्ने असती ।
तर ती सात दिन उसले हर पल हजुरबाको सेवा गर्यो अनि खुसि बनायो र उरले बदलामा एउटा उत्तिसको काठबाट बनेको बन्दुक पायो । बन्दुक हात पर्ने बित्तकै हजुर बा लाइ सुर्ति खान मन लाग्यो र जा जा भुन्टे भित्र बाट एउटा अगुल्टो लिएर आइज, भुन्टे सुनेको नसुनै गरेर पर्तिर चौरी तिर लाग्यो , अनि फेरी हजुरबा पड्कन थाले तँलाइ जैरे किन यतिका दिन मेरो पछि लागेछ भनेको त बल्ल पो थाहा पाए । तँलाइ पख न ।
उसलाइ लडाँइ खुब मन पथ्र्यौ हरेक रात आमा बाट लडाँइका कथा सुन्थ्यो । सधै आमा सँगै सुत्थ्यो हजुरबा सँग सुत्न उसलाइ मन पर्दैनथ्यो । हजुरबाको शरिरबाट आउने सुर्तिको तिखो गन्ध अनि रात भरको घुराइले गर्दा उसलाइ निद्रा पर्देनथ्यो । आमा भन्थिन् हेर तेरा बा यति लामो बन्दुक बोकेर दुस्मन लाइ मार्दै अगाडी जान्छन् । सबै दुस्मन सखाप पार्छन् आदि आदि । यस्ता लडाइका काल्पनिक कथा सुनेर उ आफु पनि यति ठुलो बन्दुक बोकेर लडाँइमा गएको र दुस्मनको सफाया गरेको गरेको कल्पना गथ्र्यो ।
आज आमा ले नै बा सँगै सोध न लडाँइका कुरा भने पछि उसलाइ के गरौ कसो गरौ लाग्न थाल्यो । सोधौ कसरी सोध्ने त्यस्तो डर लाग्दो मान्छे सँग । नसोधौ उसलाइ लडाँइका कथा नसुनी भएकै छैन ।
आ जेसुकै होस् लडाँइका कथा नसुनी छोड्दिन,फेरी लडाँइमा जाने मान्छे पनि डराएर हुन्छ र । उसले आत्मबल दह्रो बनायो र बाहिर निस्कियो ।
अनि आफ्नो बाउ लाइ बोलायो । ए बा ।
उसका बा पनि छोरा ले बा भनेको सुनेर खुसी हुदै उसलाइ जुरुक्क उचालेर माथि फ्याक्न थाले । अनि फेरी उसका नाजुक गाला तिखा जुँगाले घोच्दै म्वाइ खान थाले । भुन्टे करायो ए बा यसो नगर्नुसन भन्या मलाइ दुख्यो क्या ।
उ भुँइमा ओर्लियो अनि बा को दाइने हात को चोर औला समात्न खोज्यो । (प्राय जसो हरेका केटाकेटी यहि औला समातेर हिड्ने गर्छन् ) तर अचम्म उसका बा को त चोर औला नै थिएन । उ छक्क पर्दे आफ्ना हातका औला हेर्न थाल्यो लौ यहा त यो औला छ त फेरी बा का हातमा किन छैन,फेरी आमा अनि हजुरबा का हातमा पनि छ । उसले सोध्यो खै बा तपाँइको यहाँको औलो ।
बा मुसुक्क मुस्कुराए अनि भने छोरा यो लडाँइमा काटियो दुश्मन ले मेरो औला लगे.... । यो लडाँइको कथा हो हामी गार्खाली हरुको बिरताको कथा ............। बा उँचो स्वरमा कराउन थाले । भुन्टे ले बा का अरु बोझिला कुरा बझ्न सकेन मात्र यति बुझ्यो यो लडाँइ मा काटियो दुश्मनले मेरो औला लगे........उसलाइ मनमनै दुश्मन देखी यति धेरै रिस उठ्यो कि अहिल्यै नै हजुरबा ले बनाइदिएको बन्दुक बोकेर जाउ अनि बा को औला काट्ने दुश्मनको छातीमा गोली ठोकेर आउँ ।
भुन्टे बिस्तारै बोल्यो बा मलाइ लडाँइका कथा सुनाउनु है,, धेरै कथा ।
बा ले उसलाइ हेर्दै मुस्काउदै भने हुन्छ छोरा म सुनाउला तर अहिले हैन भरे बेलुका है ।
उसलाइ अहिलै आजै सबै कथा सुन्ने मन थियो तर भर्खर चिनजान भएका बा सँग धेरै बादबिबाद गर्न चाहेन ।
अनि पक्का है भरे नि , भन्दै पाली मास्तिर बाट पर चौरी तिर दगुर्न थाल्यो । पालि मास्तिर बाट अझै भुन्टे बा लाइ सम्झाउदै थियो भरे पक्का है बा ,,म साथि हरुलाइ भेटेर आउँछु । उसलाइ आफ्ना पनि बा घर आएको कुरा साथि हरुलाइ सुनाउन हतार भएको थियो र चौरी तिर कुद्दै थियो जहा गाउँ भरीका सबै केटाकेटी खेल्न आउँथे ।
..........................................
ढाडमा बुटको डरलाग्दो प्रहार ले पुराना दिनका सम्झनामा हराइरहेको भिम बहादुर झसंग हुन्छ । आमा लाइ जोडेर कमान्डर गालि गर्छ साले गधा तँ सेन्ट्रीमा बसेको बेला निदाउँछस् । डाँडामा रहेको क्याम्प मा चिसो सिरेटो चल्दै छ, अलि पर्तिरको बाँस घारीले छोपिएको खोल्सामा एक तमास ले स्याल कराइरहेका छन् । पारी गाँउमा पिलपिल बत्ती बल्दै छन् ।
सिमेन्टका बोरामा माटो र बालुवा भरेर पर्खाल बनाएर सुरक्षित राखिएको सेन्ट्री पोस्टमा भिम बहादुर जो सानो मा भुन्टे थियो उँघ्दै लोड गरीएको राइफल अगाडी बाटो तर्फ ताकेर बसेको छ ।
कमान्डर टाढा गइ सके पछि मनमनै रिसले मुरमुरिन्छ अनि बडबडाउछ , पख न तँलाइ लडाँइ मात्र होस् न राइफल तेरै तिर फर्काएर सबै गोलि तेरै छातीमा ठोक्छु ।
उसका बा इन्डियन आर्मी बाट रिटायर्ड भएर घर आइ सकेका छन् । चौतारमिा बसेर गाँउका केटाकेटी लाइ लडाइका कथा सुनाउने उनको दिनचर्या बनेको छ ।
यसै बिचमा भिम बहादुर सैनिक मा छनौट भएर घर भन्दा टाढाको क्याम्पमा डु्युटी गर्दै छ । सानै देखि लडाइमा चाख दिने उसलाइ हिजो आज किन किन मन खिन्न हुदै आएको छ । समाचारमा सुन्छ देश भरी पुरानो शासन ब्यबस्था को बिरोध अनि नयाँ शासन ब्यबस्था को बहाली गर्न बिद्रोह हुदै आएको छ । कुन्नी कुन जिल्लामा हो सबै ब्यारेक नै ध्वस्त पारेर बिद्रोही ले कब्जामा लिए रे कैयौ सैनिक मारिए ,यस्तै यस्तै खबर सुन्न थालिएको छ ।
बेला बेला कमान्डर हरु मिटिङ्गमा उ रहेको क्याम्पमा समेत आक्रमण हुने योजना बिद्रोही ले बनाइ रहेको कुरा सुन्छ, अनि उसलाइ एक किसिमको डर लाग्छ ।
............................
माघ महिनको एक बिहान । भिम बहादुर सेन्ट्रीमा बसि रहेको छ । आँखा पारी डाँडा तिर छन् जहाँ बाट पहाडका तरेली छिचोलेर उसको घर जानु पर्छ । मूल गेट अगाडीको ओरालो बाटो बाँस घारी छ त्यसैको छेउमा कुनै महिलाको आकृती उ तिर आइ रहेको देख्छ । उ सतर्क हुन्छ तर राइफल त्यता तिर ताक्दैन किनकी उक्त आकृती देखी उसलाइ कुनै खतरा महशुस हुदैन ।
एक महिला पुरानो स्वीटर, फरिया लगाएर मुख सम्म छोप्ने गरी मजेत्रो ओढेर सिधै उ तिरै नै आइ पुगिन् । अचानक उसले उहि चिर परिचित आवाज सुन्यो , भुन्टे ....। भिम बहादुर झसँग भयो । आमा..........अचानक उसको मुख बाट आवाज निस्कियो । सँगै डिउटी गरी रहेको साथिलाइ एकै छिन है भन्ने इसारा गरेर आमा लाइ मूल गेट भित्र पुर्ब तर्फ अलि पर प्रतिक्षालय मा लिएर गयो । आमा ले उसको अनुहारमा एक टक लगाएर हेर्दै भनिन्..भुन्टे.... अनि आँखा भरी आँशु परिन् ।
भिम बहादुर लाइ कता कता रिस पनि उठ्यो, मनमनै भन्न थाल्यो ह्या मेरी आमा पनि यत्रो लाठे भै सकेको छोरो लाइ पनि के भुन्टे भनिरा नि ।
आमा बोलिन् छोरा तँ घर पनि आउदैनस् । गाउँमा फोन पनि छैन । गाउँका मान्छे सहर आउन डराउछन् । हिड्न सक्ने काम गर्न सक्ने लाठे गाउँमा छैनन् भने पनि हुन्छ । भएका सबै तिनिहरुले लिएर गै हाले अलि हुने खाने ले शहर तिर पठाइ सके । अब त गाँउमा कोही मर्यो भने पनि लाश उठाउने लाठे छैनन्, आइमाइ ले नै बोकेर घाट लैजानु पर्ने भएको छ । कस्ता जमाना आए सबै खेत बाझै छन्, गाउँमा जँगल नै जँगल भै सक्यो दिउसै गाउँमा बाघ पसेर बाख्र लघार्न थालि सक्यो ।
कहिले नयाँ नयाँ मान्छे आउँछन् ।हरिया बुट्टा भएका लुगा ,टाउका मा रातो फेटा, हातमा बन्दुक बोकेका । खै कुन्नी के के भन्छन् फकाइ फुल्याइ पार्छन् अहिलेको शासन ब्यबस्थाले तपाँइ हरु लाइ के दियो खै, अब चाडै नै हामी सबै पुरानो ब्यबस्था परिबर्तन गर्नेछौ अनि तपाइ हामी सबै लाइ सुख हुनेछ भन्छन् । भन्डारमा भएको चामल सबै पकाएर खाइ दिन्छन् । आमा रुन्चे स्वरमा बोछिन् ।
केही दिन अगाडी तेरा बुडा भएको बा लाइ पनि लिएर गए । तपाँइ भुपु सैनिक हुनुहुन्छ हामी लाइ हतियार चलाउन सिकाउने तालीम दिने अनि लडाँइका योजना बनाउन तपाँइ जस्तो अनुभबि कमान्डरको खाँचो छ भनेर जबरजस्ति लिएर गए ।
बा लाइ लिएर गए । भिम बहादुर लाइ ठुलो चोट पर्यो । मनमनै सम्झियो असति हरु बुडा भएको बा लाइ पनि नछोड्ने । पख मात्र न म सँग लड्न मात्र आओ न मैले तिमिहरुलाइ कसरी सखाप पार्ने रहेछु ।
आमा बोलिन्, खै त्यो पल्लो डाँडा पछाडीको जँगलमा तिनिहरुको तालिम गर्ने ठाउँ छ रे । खै यतै कतै दुश्मन को सफाया गर्ने भनेर योजना बनाउदै छन् रे । तँलाइ यति नै कुरा भन्नु थियो र म यहा आए । हेर न अब त बुडी भएँछु क्यार यहा आइपुग्न पनि तिन दिन लाग्यो । बाटोमा म बुढी लाइपनि खुब दुख दिए ति असति हरुले । तँ हाम्रो सुराकी गर्न हिडेकी भनेर । तै पनि म जसो तसो यहाँ सम्म आइ पुगेँ । छोरा खै के हुने हो मलाइ त एक दम डर लागी रहेको छ ।
केही हुदैन आमा बा लाइ अनि मलाइ । सब ठिक हुन्छ । भिम बहादुर मन भित्रको त्रास लाइ भित्रै दबाएर आमा लाइ ढाडस दिदै बोल्यो ।
ल त छोरा अब तेरो मुख देख्न पाउछु कि पाउदिन थाहा छैन । अब म जान्छु । अब त रुदा रुदा मेरा आँखामा आँशु पनि सकिएछन् क्यार रुन पनि मन लाग्दैन । रुनु अनि आँशु झार्नु को महत्व पनि त्यो बेला हुने रैछ जब छेउमा पुछिदिने कोही होस् ।
आमा जुरुक्क उठिन् अनि पछ्यौरा भित्र बाट एउटा पोको झिकेर उसलाइ दिदै भनिन् ला भुन्टे तँलाइ मन पर्ने सेलरोटी ल्याइदिएकी छु र एक पटक भुन्टेको अनुहारमा एक टक ले हेरेर ब्यारेकको मूल ढोका तिर लागिन् अनि ओराले लाग्ने बाटो मुन्तिरको जँगलमा अलप भइन् ।
उसलाइ कता कता भित्रै देखी मन अमिलो भएर आयो । रुन सकेन । आमा ले भनेको कुरा सम्झियो “रुनु अनि आँशु झार्नु को महत्व पनि त्यो बेला हुने रैछ जब छेउमा पुछिदिने कोही होस्”। उ चुपचाप सेन्ट्री पोस्ट तिर लाग्यो ।
...........................................
ट्वाङ्ग ट्पाङ्ग... गर्दे एघार पटक घन्टि बज्यो । जाडो चरम उत्कर्षमा थियो । पोस्टमा तैयारी अबस्थामा बसेको भिम बहादुर को देब्रे हातमा चसक्क कुनै चिजले घोच्यो, दुखाइ यति तिब्र थियो कि उ चिच्याउन पुग्यो । अचानक पटटटटट गर्दै गोलि चल्न थाल्यो । वर पर झल्याक झिलिक गर्दे गोलि चल्ने क्रम बड्यो । यसो हात तिर हेर्यो ,,हे भगवान गोलि लागेछ । कुम मुन्तिर बाट गोलि ले छेडेर पार गरेछ पिडा असह्य भयो र बुङ्ग ढल्न पुग्यो । उस माथि उ सँगै सेन्ट्री बसेको साथी पनि पुर्लुक्क लड्यो अनि हिक्क हिक्क गर्दै चिसो हुन थाल्यो ।
माटो भरेर राखिएका बोरा को चेप बाट उ बाहिर चियाउँदै थियो । उठ्ने हिम्मत पनि थिएन । बाहिर एक तमास ले गोलि चल्ने को आवाज आइ रहेको थियो । अइया मरेनी आमा ... मार मार साला लाइ ठोक ...सैतानको टाउको मा गोली ठोक...।
चार पाँच घन्टा निरन्तरको युद्द पस्चात वाताबरण शान्त भयो । भिम बहादुरको मुख सुकेर स्वास फेर्न मुस्किल भै रहेको थियो । उसले आफ्नो राइफल लाइ जसो तसो पोस्टको मुख तिर सोज्यायो । बाहिर हाम्रो क्रान्तिको जित भयो , जनयुद्द सफल रहोस् । महान् शहिद हरु लाल सलाम भन्ने आवाज चर्को हुदै थियो । जुनको मधुरो उज्यालो मा झल्याक झुलुक राता फेटा देखिन्थे ।
कसैले बोलेको सुन्यो ,कामरेड हरु सबै हतियार सँकलन भै सके हैन । यत्तिकैमा एउटा मानब आकृती उ लडेको पोस्ट तिर आउदै गरेको देख्यो । आफु मर्नु भन्दा पहिला जो आए पनि उसलाइ सिध्याउने सोचाइ राखेर उ राइफल लाइ दुइ घुँडाले च्यापेर दाइने हाते लोड गर्यो । उत्त आकृती नजिकै आएर उ माथि लडेको साथि लाइ पन्छाएर उ सँग भएको हतियार लिन थाल्यो । साथिको शरिर एका तिर पन्छाएर उक्त आकृति भिम बहादुर तिर बढ्यो यत्तिकैमा उसले फायर गर्यो र चिच्यायो ....साला कुकुर को छाउरा आइज ।। गोली लागेर उक्त मानब आकृती त्यहि लड्यो ।
भिम बहादुर घस्रदै उक्त ब्यक्ति सम्म आइ पुग्यो । रिस अझै मरेको थिएन । गधा हरु मेरा बुढा भएको बा लाइ लिएर जाने । अझै दुइ चार गोलि नठोकी त कहाँ छोडुँला र....
घोप्टो परेर लडीरहेको उत्त ब्यक्ति लाइ उत्तानो पार्यो । मुखमा रगतका छिटा ले गर्दा अनुहार चिन्न नसकिने अबस्थामा थियो । उसले हानेको गोलै सिधै निधारको बिचमा लागेर पार गरेको थियो । दाहिने हात मृत शरिर ले थिचि रहेको थियो । उसले हात लाइ तानेर बाहिर निकाल्यो , र अचानक चिच्यायो......बा..............
उसको मुख आँ... भइ रह्यो । त्यहि हात आज उ समाइ रहेको थियो जहाँ एउटा औँला काटिएको थियो । कुनै समय त्यहि हात समाएर हिड्ने भुन्टे आज हत्यारा भै सकेको थियो ।
आँखा तिरमिर तिरमिर भए, दिमाग शून्य भयो केहि सोच्न सकेन । अनि उसले आफ्नो दाहिने हातको चोर औला ले बन्दुकको ट्रिगर दबायो ,एउटा तातो गोली मुख बाट टाउको पार गरेर पर बाँस झ्याङ्ग मा गएर हरायो । एक झुन्ड रुपी अतालिएर कराउदै अन्धकारमा उडे । उसका आँखा अगाडी कालो हुदै गयो ,अन्तिम समयमा उसले चराको चिरबिराहट सँगै आवाज सुन्यो, हाम्रो क्रान्ती को जय होस्, क्रान्ति सफल होस् । 

२०७० कार्तीक २५
अनिल घिमिरे
पिप्ले १ तेह्रथुम
हाल फत्तेपुर सप्तरी

This is the property of the writer. No body can copy any things from here without permission is Gilligan.