Thursday, July 18, 2013

मेरी आमा











रातको चौथो प्रहरमा
एक तमासले स्याल कराउदा,
अनि,
सेते कुकुर जोड जोडले भुक्दा,
बाटोमा सित ले भिजेको घाँस
अनि हुरीले भाँचेको रुखको हाँगा पन्छाउदै,
पिठ्युँमा डोको र गाग्री बोकेर
पर भिरको कुवामा पानी भर्दै गरेकी,
अनि,
भर्खर दुध मस्कदै गरेका
धानका बाला,
मायालु हातले पन्छाउदैं
घाँस काटीरहेकी,
अनी,
खोल्सामा एँसेलु भेट्दा
टपक्क टपक्क टिपेर
पोल्टामा लुकाउने,
अनि रातमा हुरीले
छानो उडाउन खोज्दा
आफै बाँस समातेर
रातभर जाग्राम बस्ने,
अनी,
जर्सी गाइको आइतबारको दुधमा
कुराउनि पकाउने
अनि,
पल्लो घरको रेडीयो चोरेर
चक्लेट संग साटेर खादा
जोगाएर
गालाम मायालु थप्पड हान्ने,
अनि,
घर खाँदा पाएका दुख
अनि जन्मीएका रोग सम्झी,
मन मनै के के भन्ने
तर कहिल्यै गुनासो नगर्नै,
अनि,
साउने झरीमा
भिजेका फलेदाका दाउरा बाल्न
बाँसको ढुङ्ग्री ले चुलो फुक्दै
खोक्दै
डाडुले कुँडेमा दुध उमाल्दै गरेकी,
अनी,
गोल कपुर गनाउने मजेत्रो ‌ओडेर
मेरो हात समात्दै
सल्लाघारी को उकालो
साँझ साँझ मा
मलाइ माओल लैजादै गरेकी,
अनी,
छीमेकीका बाख्राले मकै खादा
धपाउन जादा खुट्टामा
डम्फरका काँडा बिझेर
डीलमा बसी
पोतेमा सिउरेको पिनसियोले
काँडा निकाल्दै गरेकी,
अनी,
पुतली बाख्रा ले पाठो पाउदा
काखमा लिएर
दुधदानी बाट दुध ख्वाइरहेकी
कुनै स्त्री लाइ कतै देख्यौ भने
बुझ्नु ती मेरी आमा हुन् ।  ©अनिल घिमिरे फत्तेपुर सप्तरी २०७०।०४।०३

Tuesday, July 16, 2013

सायद।

सायद
सोच्छु,
सायद मेरा पङ्खा हुदा हुन् त
म पनी बतासको बेग सँगै
बत्तीदै,कावा खादै
सिमलको रुखको टुप्पामा बसेर
पर पर को हरीयो धानको खेत हेरेर
खुब रमाउथेँ हुँला ।
सर्ब प्रथम पाकेको मीठो फल को स्वाद
मेरै जिब्रो ले थाहा पाउने थियो होला ।
बिहानै चिरबिर गरेर
सूर्य लाइ स्वागत गर्न
अनी संसार लाइ जगाउन पाउदा
म कति मख्ख पर्थे हुंला ।
ब्याड राखेको धानको खेतमा
भुर्रर भुर्रर उड्दै
पोटीला दाना टिपेर खाने थिएँ हुँला ।
लेक बेशी डाँडा काँडा
छिन भरमा नै गर्ने थिएँ हुँला ।
त्यो परको डाँडा पारी की
मेरी मायालु,
उनलाइ नभेटेको कति दिन भयो
सायद एकै छिन काम थाती राखेर
भुर्रर उड्दै गएर
मायालु म्वाइ खाएर आउने थीए हुँला ।
सप्तरङ्गी को बिचमा गएर
मनपर्नै रंग जिउभरी पोख्ने थिएँ हुँला ।
परको चुची ढुङ्गाको टुप्पोमा बस्न कती मन थीयो
सायद त्यहा बसेर तल फलेका
नागपिनीका फूल अनि पल हेर्ने थिएँ हुँला।
तर,
खै त मेरा पखेटा
?
यी सबै काटीएका छन्
बाँधिएका छन्
बाध्यताका चक्कु अनि डोरी ले
न त म उड्न नै सक्छू
न त हिड्न नै
मेरा खुट्टा लुलीएका छन्
प्यारालाइसीस जस्तै
हिड्न सक्दीन
बोल्न सक्दीन
उड्ने त कुरै छोडौ
हे उड्न चाहने नव बचरा हरु हो
आफ्ना पखेटा बाँधीन नदेउ
नदेउ यीनलाइ काटीन
उड माथी माथी
जती सक्छौ जाउ नभमा
अनी हेर यो संसार लाइ
हेर दुनीयाको चर्तीकला
सायद कतै जंगलको छेउमा
पखेटा काटीएको चरी देख्ने छौ
छटपटाइ रहेको
रगताम्मे भएको
पानी पानी भन्दै मुख बाउदै गरेको
थाहा छ त्यो को हुनेछ?                                      
©अनिल घिमिरे फत्तेपुर सप्तरी २०७० साउन ०१