Tuesday, July 7, 2015

म र मेरो सोचाइ

म र मेरो सोचाइ
    म डाँडाको चुचुरोमा घोरिएर बसेकोछु । तल खोलो नागबेलि पारमा आफ्नै तालमा बगिरहेकोछ । खोला पारी अर्को डाँडा छ । माथि अग्लो अनि तल घट्दै गएर  खोलामा समान भएको छ । आँखा खोलाको सिह्रानमा जान्छन् माथि ठुलो पहाडको चुचुरो छ । चुचुराको टुप्पाको चट्टान एकनासले टल्कि रहन्छ र तल जँगल हरियो छ । सायद रुखलाइ हावाले हल्लाइ रहेको होला टाढा भएकोले म त्यो स्पस्ट सँग देख्‌न सक्दिन । उक्त पहाडको काखबाटनै त्यो खोला बेगिएर गाउँको फेदबाट दुइवटा पहाडको बिचमा बाटो बनाउँदै बगिरहेको छ । एकनासले स्वाँ छङ् छङ् अनि कुल कुल गर्दै सबै हरियो बनाउँदै बगिरहेको छ। यसको एकनासपन अनि अटुटपनाले मलाइ पिरोल्न थाल्छ । यसमा बग्ने पानीको प्रत्येक थोपा कहिल्यै पनि फेरि त्यहाँबाट बग्न पाउने छैन । एक पटक ढुङ्गा मा लुटपुटिँदै छाँगाबाट खस्यो भने फेरि कहिल्यै पनि माथि आउन सक्दैन। म प्रत्येक मानव अनि प्रकृतिका सम्पूर्ण सँरचना सँग यसको तुलना गर्छु । बिशेष गरि मानब जिबन सँग। मानब जिबन पनि यहि खोलाको पानी जस्तै छ कहिँ खोँचमा बग्नु पर्ने त कहिले गड्गडाउँदै बग्ने अनि कहिले छाँगाबाट खस्नु पर्ने कहिले कस्तो ऽऽअनि कहिले कस्तो।।।।। ।।।।।। 
        मेरा आँखा फेरि खोलाको नागबेली बाटो सँगै तल जान्छन्। त्यहाँ पारिबाट अर्को खोला आएर मिसिन्छ । त्यो खोला कत्रो छ मलाइ थाहा छैन म केबल संगम मात्र हेर्न सक्छु । यो खोलाको पानी कति निर्मल छ । कहिँ त्यो खोलाको पानी धमिलो फहोर त छैन जसले यसको निर्मलतमा धावा बोलोस् । मलाइ त्यसको चिन्ता हुन थाल्छ। एक्कासि सोच्न थाल्छु फोहोर पानी मिसिएर के भो त यो खोलाको पानी त पबित्र नै त छ नि । त्यो फोहोर आएर मिसियो त यसको के को दोस् । यो खोला आफैं फोहोर हुन खोजेको त हैन नि । मेरा आँखा अझै अगाडि बढ्छन् पर फेरि अर्को डाँडाको काखैबाट  बग्दै आएर अर्को खोलो मिसिन्छ , सायद त्यो खोला हैन  नदी पो होला त,अब त यो खोलामा त्यो मिसियो भन्नु त भएन पो होलात किनकि त्यो नदी यो खोला भन्दा कैयौ गुणा ठुलो होला । हुन त यो खोला पनि निकै को साथ पाएर ठूलो भएको छ । तर त्यो भन्दा ठूलो हुन सकेन । त्यसैले यो खोला गएर त्यो नदिमा मिसियो र बिलायो त्यो ठूलो पानीको भिंडमा के सानो हुनु यसको दोषहो त ? जो गएर त्यो ठुलो नदिमा हराउनु पर्ने । तर यो त प्रकृतिको नियमनै हो नी हरेक ठूलो चिजमा सानो हराउनु पर्ने अनि अस्थित्व खतरा हुने।।।।
               यहाँत मेरो छेउबाट बग्ने कन्चन निर्मल पानी भएको खोलो गएर त्यो बिशाल नदीमा मिसियो हरायो । के अब त्यसको अस्थित्व समाप्त भयो त ? के अब त्यहाँबाट तल यो खोलाको कन्चन पानी पाइन्न ? के यसको जिबन यतिनै हो त?  म फेरि सोच्छु त्यो नदी पनि तल गएर फेरी कुनै ठूलो नदीमा मिसिन्छ होलानी त्यो नदी यति ठूलो होस् कि यो नदी को पानी वनि बिलाओस् । म प्रार्थना गर्छु । मेरा आँखा अझै पर जान्छन् । दुइतिरबाट आएका भिराला पहाड माथि अग्ला अनि तल होचा भएका र त्यहि नदीको बाटमा आएर हार मानेर टुङ्गन्छन् । आँखा अगाडि बढ्दै जाँदा पहाडका तरेली कुनै हरिया,कुनै राता कुनै अग्ला कुनै होचा । अझ पर हेर्दै जाँदा मेरा आँखा तिर्मिराउन थाल्छन् । केहि पनि देख्दिन मात्र तिरमिर तिरमिर। म आँखा चिम्लन्छु । म सोच्छु त्यहाँबाट पर के होला ? त्यहाँको प्रकृति कस्तो होला ? सायद त्यहाँ पनि पहाड, खोला होलान् कि बिशाल तराइका फाँट होलान् । एक्कासि  चराको चिरबिर आवाजले मेरो एकाग्रता भङ्ग गरिदिन्छ । म पछाडि फर्कन्छु र माथि हेर्छु एउटा ठूलो पहाडको सृङ्खला नै छ। ठूला ठूला सेता चट्टान झर्ला झर्ला कि जसरि अडिएका । तर अहिले सम्म कूनै झरेको भने थाहा छैन। प्रकृतिको यो रचना देख्दा अचम्म लाग्छ।

 © २०११ अनिल घिमिर

No comments:

Post a Comment